बझाङ – नेकपा एमाले बझाङले मंगलवारदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुरु गरेको छ।
अभियानको मंगलवार उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य लीलाधर भट्टले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीको विकास गर्न उक्त अभियान थालिएको उनको भनाइ छ।
भट्टले केन्द्रको निर्देशनअनुसार मिसन ग्रासरुट अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए। मिसन ग्रासरुट अभियानका लागि बझाङमा पार्टी केन्द्रीय सदस्य भट्ट, प्रकाश शाह, संघीय सांसद तारा लामा र केन्द्रीय लेखा आयोग सदस्य वसुन्धरा रोकाया गरी चारजना खटिएका छन्।
तलकोट गाउँपालिका, मष्टा, सुर्मा र साइपाल गाउँपालिकामा बसुन्धरा रोकायालाई जिम्मेवारी दिएको छ। खप्तडछान्ना, दुर्गाथली र थलारा गाउँपालिकामा तारा लामालाई जिम्मेवारी दिएको छ।
यस्तै बुंगल नगरपालिका, केदारस्युँ र वित्थडचिर गाउँपालिकामा प्रकाश शाहलाई जिम्मेवारी दिएको छ। छबीसपाथिभेरा र जयपृथ्वी नगरपालिकामा लीलाधर भट्टलाई जिम्मेवारी दिएको छ।
जिम्मेवारी तोकिएका चारैजना नेतालाई सहयोग गर्न पार्टीले नेता कार्यकर्तालाई आह्वान गरेको छ। अभियान मंगलबार जयपृथ्वी नगरपालिकाबाट शुरु भएको छ।