काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागी भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था ।’
उनले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताए । पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उनले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताए ।