धनगढीः मुलुकको सूचना प्रविधि क्षेत्रको उपल्लो पद अहिले पौडेलहरुको पोल्टामा छ। जस्तो नेपाल टेलिकमका हाकिम छन्, सुनिल पौडेल, सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त छन्,प्रदीप पौडेल। यी तिनै भाइ विचौलिया दिपक भट्टका प्रतापले ठाँउ ठाँउमा फिट भएको बताइन्छ। अहिले यिनै पौडेल बन्धुकै कारण मुलुकको सूचना प्रविधि क्षेत्रले एक पछाडि अर्को संकट भोग्दैछ।
जस्तो अस्ति सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान दुई घण्टा प्रभावित भयो। दुई हप्ता अघि मात्र लगातार सात घण्टा उडान प्रभावित भयो।
बाहना थियो, सरकारी सर्भर डाउन। टिआइएको सर्भर अरु सरकारी निकायकोझैं गृह मन्त्रालय पछाडिको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ। यी सरकारी वेव होस्टिङको काम गृह मन्त्रालय पछाडि रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले गर्दै आएको छ। अहिले एनआईआईटीसीमा कार्यकारीको कुर्सीमा छन्, प्रदीप पौडेल। पौडेल त्यहाँ पुगेपछि एकै पटक देशैभरका सात हजार सरकारी कार्यालयको वेब होस्टिङ ह्याकरको निशानामा प¥यो। यसअघि प्याडक्स साइबर घोस्ट नामक फेसबुक पेजमार्फत ह्याकरले नेपालका ५८ वटा सरकारी वेबसाइटमा एकै पटक हमला गरेका थिए। केही वेबमा ह्याकरले अनेकथरी भाइरस हालेर त्यहाँका महत्वपूर्ण डाटा चोरे। अझै नेपाल प्रहरीकै वेब ह्याक गरी पोर्न भिडियो हालियो।
यसरी मुख्यसचिवका नातेदार,विचौलियाका प्रतापले सरकारी कार्यालयका हाकिम बनेका पौडेल आइटी क्षेत्रका जानकार हुँदै होइनन्। साधरण मास्टरी पेशा गरेर जीवन धान्दै आएका पौडेल सेन्ट जेभियर्स कलेजमा मास्टरी गर्दा गर्दै एनआईआईटीसीमा कार्यकारी भएर छिरेका हुन। उक्त केन्द्रको कार्यकारी निर्देशक हुन विज्ञान, अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तरको मापदण्ड तोकिएको थियो। साथैं अनिवार्य प्रविधि क्षेत्रमा १० वर्षको अनुभव चाहिने भनिए पनि पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको सञ्चार स्रोतले दावा गरेको छ। योग्यता नपुग्दा नपुग्दै पनि उनी मुख्यसचिव शंकरदास बैरागीका साढु भाइ र सालीका छोरा भएका कारण त्यहाँ फिट भएको सो स्रोतले जनाएको छ।
उसै गरी सुरक्षण मुद्रण कोषका हाकिम कम ‘ब्रोकर कार्यकारी निर्देशक’को भूमिकामा रहेर चर्चा र विवादमा आउने पात्र हुन विकल पौडेल। सेक्युरिटी प्रेस, प्रिन्टिङ, इम्बोइस्ड हुँदै अन्तः शुल्कको स्टिकर छपाइमा समेत अनियमितताको गन्ध भेटिएको भन्दै सो कार्यालयमा पठाइएको बजेटमा अंकुश लगाइएको छ। खासमा अन्तशुल्कको स्टिकर छाप्ने काम राजश्व अनुसन्धान विभागको हो तर विभागसँग कुनै सम्झौता नै नगरी बजारमूल्यभन्दा झण्डै ५ गुणा महँगोमा स्टिकर छपाइको प्रक्रिया विकलले अघि बढाएको भेटिएको छ।
स्वार्थ समूहकै इन्ट्रेस्टमा ऐन नै संशोधन गरेर सुनिल पौडेललाई नेपाल टेलिकममा लगिएको टेलिकमका कर्मचारीहरु सुनाउँछन्। टेलिकममा ऐन संशोधन गरेर पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक बनाइएको हो। उनी टेलिकमको हाकिमका रुपमा जानु अघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिँदा निर्देशिका नै संशोधन गरिएको थियो।