काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार तय गर्न काँग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलाको दाबी छ ।
कतिपयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ ।’
त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । काँग्रेसका शीर्ष नेताहरूका अनुसार काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुङ्गिए जस्तै हो ।
यद्यपि सिटौलाले अझै आस मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै आएका छन् । बन्द कोठामा हुने कतिपय छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सिटौलाको नाम लिने उनी निकटवर्तीहरुको दाबी छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने काँग्रेसको विषय भएको र सभापति देउवासहित संस्थापन पक्षका सबैजसो नेता पौडेलको पक्षमा रहेको नेताहरू बताउँछन् ।