काठमाडौँ – अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।
मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो ।नेपालका लागि देव खनालले नट आउट १२५ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेले । ११२ बल खेलेका उनले १२ चौका प्रहार गरे । विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहराले १९ रनको योगदान गरे ।
यता कुवेतका लागि हेनरी थोमस र अर्श साहिलले दुई विकेट लिए । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ ।