नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ । पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।