धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक असई विवादमा तानिएका छन्। असई अमर भण्डारी हालै विवादमा तानिएका हुन्।
उनी विवादमा तानिएपछि अस्तिमात्रै उनलाई जिम्मेवारीबाट हटाइएको कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले जानकारी दिए।
उनका अनुसार उजुरी तथा छानबिन शाखामा जिम्मेवारी भएका असई भण्डारीलाई अन्यत्र ड्युटीमा हालिएको हो।उनलाई विवाद आएपछि सो शाखा (फाँट)को जिम्मेवारीबाट मुक्त गरिएको हो।
उनै असई भण्डारीले आफ्नो दाईको लगानी रहेको धनगढी बुद्धचोकस्थित बाडुली रोधी घर एण्ड रेस्टुरेन्ट बारलाई आफ्नो भन्दै बताउने गरेका छन्। त्यहीँ रोधिघरमा भएको एक लफडाको विषय जिल्ला प्रहरी कार्यालयमा आएकोमा उनैले छानबिन गरिरहेको विषय खुलेको थियो। त्यसपछि उनको सो प्रकरणमा स्वार्थ जोडिएको भन्दै गुनासो गरिएपछि शाखाबाट हटाएर ड्युटी लगाइएको हो।
असई भण्डारीले आफ्नो बताउने सो रोधी घरमा नाङ्गो नाचदेखि विभिन्न लफडा हुने गरेका छन् भने राति १२ बजेसम्म प्रहरीकै इन्सपेक्टरसम्मका कर्मचारी मदिरामा रमाउने गरेका भेटिन्छन्।
स्रोतका अनुसार ती असईले प्रहरी मिलाउने सबै आफ्नो जिम्मा लिएको पनि बताइन्छ। यद्यपि जिल्ला प्रहरी कार्यालयले अब त्यहाँ कडाई गर्दै निगरानी गर्ने जनाएको छ।