धनगढी: कैलालीको धनगढीमा भन्सारका प्रमुखलाई नगर प्रहरीले भकुरेको पाइएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक(इन्सपेक्टर) लक्ष्मण सिंह धामीको टोलीले कैलाली भन्सारका प्रमुखलाई कुटेको हो।
गए (शनिबार) राति भन्सार कार्यालयभित्रै प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट भएको बताइएको छ।
रातमा भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि प्रहरीको टोली पनि त्यहाँ पुगेको थियो। यद्यपि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिती समान्य भइसकेको जनाइएको छ।
यता नगर प्रहरी धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको तर मदिराले लठ्ठ अवस्थामा रहेका उनले आफूहरुमाथि दुव्र्यवहार गरेको दाबी गरेआ छन्।
तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राति १० बजे कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो। त्यस क्रममा भन्सार हाकिम भेटिएपछि विवाद भएको हुनसक्ने बताइएको छ।
सुरुमा सडकमा विवाद भएपछि भन्सार प्रमुख तिम्सिना भन्सार कार्यालयभित्र पसेका थिए। त्यसपछि नगर प्रहरीको टोली पनि त्यहाँ घुसेको थियो।