धनगढी: नेपाल प्रहरीको व्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–०४ स्थित बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू ब्युरोबाट आएको हुँ भन्दै रकम माग्दै आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीको भनाइ अनुसार होटल सञ्चालक मोहन सिंह धामीलाई निशानामा पारेर रकम माग गर्ने क्रममा शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सोही आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले युवकलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति धनगढी उप–महानगरपालिका–०५, शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।