धनगढी: कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। आज (बुधवार) जिल्लाको कैलारी गाउँपालिका–७ स्थित बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीय गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरू आज दिउँसो रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिएको छ। उनीहरु दुवै छिमेकी भएको र सामुदायिक वनको एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए।
उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास के–कति कारणले जंगलमा गएका थिए ? भन्ने खुलेको छैन। उनीहरु दुवै जना विवाहित भएपनि एकअर्कासँग सम्बन्धमा रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।
स्रोतकाअनुसार आपसी सम्बन्धबारे गाउँमा हल्ला चलेका कारण उनीहरुले मृत्युको बाटो रोजेको हुनसक्ने आशंका गरिएको छ तर घटनाबारे विस्तृत अनुसन्धान जारी छ।
गाइगोरु चराउन गएका बालबालिकाहरुलेदुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए। त्यसपछि प्रहरी त्यहाँ पुगेको थियो।
अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोली घटनास्थल पुगेर फर्किदै छ। घटनास्थल कार्य सकेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउन लागेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान थप अनुसन्धान गरिने जनाइएको छ। मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन्।