काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका छन्। आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए। रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नउपाका एक नेताले बताए।
जसमा उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ। नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश राख्नु पर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ।
यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग छ। प्रदेशसभाको विगतको कार्यकालमा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने गरी प्रदेशसभाबाट पारित भएको थियो।