काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुँदै छ। आज हुने उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ।
त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने खेल आज साँझ साढे पाँच बजे हुनेछ। खुमलटारले यसै खेल मार्फत शीर्ष डिभिजनमा डेब्यू गर्दै छ। बी डिभिजन उपविजेता हुँदै ए मा उक्लिएको खुमलटार पहिलो खेलमै जीत हात पार्ने लक्ष्यमा हुने छ।
नवप्रवेशी खुमलटार र चर्च ब्वाइजसहित १४ क्लब सहभागी लिग डबल राउन्ड रोविनको हुनेछ। ए डिभिजनमा कुल १ सय ८२ खेल हुनेछन्। खेल दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ।
लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख पाउने छ। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।