कञ्चनपुर – अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ ।
शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताउनुभयो । बाख्रापालनका लागि रु चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका छन् । समूहमा आबद्ध सदस्यमध्ये बाख्रा खरिदका लागि तीन सदस्यीय समिति गठन गरेका छन् ।
खरिद गरिएका बाख्रा दुई वटाका दरले १५ सदस्यलाई उपलब्ध गराइएको छ । समूहमा आबद्ध सदस्य कृष्ण थापाले बाख्रापालन गरी आत्मनिर्भर बन्नका लागि सघाउ पुगेको बताउनुभयो । अपाङ्गता भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै समूहका अर्का सदस्य जानकी चौधरीले आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि बाख्रापालनमा लागेको बताउनुभयो । समूहका अध्यक्ष हरिदत्त भट्टले स्थानिय तहले पनि विज्ञ केन्द्रको जस्तै अपाङ्गता भएका व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
केन्द्रले शुक्लाफाँटामा जस्तै बेदकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी स्थानीय जातका कुखुरापालनका लागि रु चार लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । कुखुरापालनका लागि समूहमा आबद्ध सदस्यले खोर निर्माण गरेका छन् । अनुदान रकमबाट दश सदस्यले कुखुरापालन गर्ने समूहका कोषाध्यक्ष