कैलालीः भोलि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा माओवादी भित्र तीव्र विवाद पैदा भएको छ।
केही बेर अघि माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदीय बैठकले माओवादीले विश्वासको मत नदिने निर्णय भएको जानकारी दिएका थिए ।
माओवादी संसदीय दलका नेताले अभिव्यक्ति दिए लगत्तै माओवादी सांसदले नै त्यसको खण्डन गरेका छन् । माओवादी सांसद ओम विक्रम भाट सरलले सामाजिक सञ्जाल मार्फत त्यस्तो निर्णय नभएको बताएका हुन् ।
‘माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । हामी निरन्तर छलफलमै छौँ’ उनले लेखेका छन्, ‘बैठक आजकालागि स्थगित भएको छ आवश्यक निर्देशन र मार्गदर्शनका लागी पार्टी केन्द्रसँग अनुरोध गरिएको छ । हामी आठ दलीय गठबन्धनप्रति प्रतिबद्ध छौँ । ’
उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखिएको समेत जनाए । सांसद भाटले भोलि केन्द्रीय अध्यक्षबाट आउने निर्णय अनुसार अघि बढ्ने बताए ।
‘पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्युले गर्ने निर्णय र मार्ग निर्देशन अनुसार हामी अगाडि बढ्ने हौँ । त्यस कारण धमिलो पानीमा माछा मार्ने दुष्प्रयास कसैले नगरौँ । पार्टीको लाइन र नेतृत्वलाई अप्ठ्यारो पर्ने कार्य गर्न हामी कल्पना समेत गर्न सक्दैनौँ’ उनले अगाडी देखेका छन्,‘ त्यसैले कपोकल्पित विषय उचालेर होइन सहमति सहकार्य र गठबन्धनको साझा सहमतिमा अगाडि बढ्छौँ । स्वाभाविक रूपमा गठबन्धन भित्र आपसी सहमतिमा हाम्रो दाबी रहन्छ ।’