धनगढी – नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम राजनीतिक ‘कोर्ष करेक्सन’को ‘गेम चेन्जर’ बनेको बताएका छन्। प्रदेश सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यो गेम चेन्जर ठाउँ हो, हामीले देखाइदिएका छौँ, सधै पूर्वबाट हुन्थ्यो, अघिल्लो पटक कर्णालीबाट भएको थियो, यो पटक सुदूरपश्चिमबाट भएको छ,’ उनले भने, ‘त्यस कारण सुदूरका मानिस राजनीति गर्न जान्दैनन्, पछाडि छन् भन्ने होइन, देशको राजनीतिलाई नयाँ दिशा दिने ठाउँ पनि हो भन्ने प्रमाण आज दिएको छ।’
यस्तै सोडारीले सुदूरपश्चिमबाट चुनाव अघिको गठबन्धन ब्यूँतिएर नेपाली राजनीतिलाई नयाँ दिशा दिएको बताए।
‘यो प्रदेश सभा यस्तो टर्न प्याइन्ट हो, जहाँबाट नेपाली राजनीतिले कोर्ष करेक्सन गरेको छ, दुई महिना अघिको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएर करिब दुई तिहाईको मतमा अगाडि बढ्दैछौँ,’ उनले भने। संविधानमाथिको खतरा बढेपछि पुरानै गठबन्धन ब्यूँतिएको उनको भनाई छ।