धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्टले आफ्नो पार्टी सरकारमा सहभागी भएपनि खबरदारी गर्ने भूमिकामा रहने जनाएका छन्।
प्रदेश सभा बैठकमा बोल्दै उनले माओवादी सत्ताभित्र प्रतिपक्षको भूमिकामा रहने बताउँदै मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने बताएका हुन्।
माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिने निर्णय गरेसँगै सत्ता पक्षको बेञ्चमा बसेको छ। राजनीतिक दलहरु प्रतिस्पर्धी नभएर मिलेर अगाडि बढ्नु पर्ने बताउँदै भट्टले प्रतिपक्षी दलले पनि सत्ताधारी भूमिका खेल्नु पर्नेमा जोड दिए।
‘दलहरु प्रतिस्पर्धी भएर होइन, परिपुरक भएर अगाडि बढ्नु पर्छ भन्ने बुझाइले आज हामी सरकारको पक्षमा उभिएका छौँ,’ उनले भने, ‘त्यसैले हामी सत्ता पक्षभित्र पनि प्रतिपक्ष हुने छौँ, प्रतिपक्षले पनि सत्ताधारी भूमिका खेल्ने गरी यो प्रदेश सभामा प्रस्तुत हुनेछन्।’
आफ्नै नेतृत्वको सरकारलाई खबरदारी गर्ने दायित्व सत्तापक्षको बढि हुने उनले बताए। ‘आफ्नै सरकारले राम्रो काम गरेन भने त्यसलाई खबरदारी गर्ने काम प्रतिपक्षी भन्दा पनि सत्तापक्षको बढि होे,’ उनले भने, ‘सरकारले राम्रो काम ग-यो भने त्यसको रक्षा गर्ने दायित्व प्रतिपक्षको पनि हो।’