धनगढी – नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफू र आफ्नो पार्टी सत्ताका लागि मात्र लागि नपरेको स्पष्ट पारेका छन्। आइतवार प्रदेश सभा बैठकमा बोल्दै चौधरीले यस्तो बताएका हुन्।
नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनमा पनि टीकापुर घटनामा दोषी ठहरिएका रेशमलाल चौधरीको रिहाइको मुद्दालाइ नै प्रमुख एजेण्डा बनाएको उनले बताए।
‘अहिलेको नयाँ समीकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ। रेशमको रिहाइ आवश्यक छ।’
एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २६ माघमा राजेन्द्र सिंह रावल पदमुक्त भएका थिए। रेशम चौधरी रिहाइको आश्वास मात्रै पाएकोले त्यस बेला विश्वासको मत दिन नसकेको चौधरीले बताए।
टीकापुर घटनालाई राजनीतिक रुपमा निराकरण गर्नुपर्ने उनको भनाई छ।