धनगढी: कैलालीको अत्तरियामा फागुन २५ र २६ गते स्टीम मेला लाग्ने भएको छ।अत्तरियास्थित एभरेष्ट एकेडेमीले स्टीम एक्स्पो तथा च्यालेन्ज नामक २ दिन कार्यक्रम गर्ने भएको हो।
उक्त कार्यक्रमबारे आयोजकले आज (सोमवार) धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। आयोजकका अनुसार कोे स्टीम प्रोजेक्टमा करीव २० देखि २५ विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन्। यो प्रोजेक्टका लागि गोदावरी नगरपालिका लगायत विभिन्न संस्थाहरुले सहयोग गरेका छन्। यस्तै एभरेस्ट एकेडमीले पनि ३ लाख बराबरको बजेट यो प्रोजेक्टमा लगाएको छ। विशेषगरी यो कार्यक्रममा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहायता प्रदान गरेका छन्। कार्यक्रमको अनुमानित बजेट १२ लाख रहेको आयोजकको दाबी छ।
उक्त प्रतियोगितामा स्टीम एक्पो एण्ड च्यालेन्जका लागि सुदूरपश्चिम प्रदेशका जुनसुकै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विधार्थीहरुले सहभागी हुन पाउने एभरेष्ट एकेडेमीका प्रीन्सिपल स्माइल चौधरीले बताए। एउटा विद्यालयबाट ५ जना विद्यार्थीहरु (कम्तिमा २ जना छात्रा) र १ जना शिक्षक गरि ६ जना सहभागी हुन पाउने छन्।
स्टीम प्रोजेक्ट नेपालका लागि नयाँ शिक्षण विधि भएकोले यस सम्बन्धी जनप्रतिनिधि, अभिभावक, प्रधानाध्यापक तथा शिक्षकहरुलाई जानकारी दिन स्टीम सम्वन्धि विज्ञहरु मार्फत एक दिने अभिमुखीकरण प्रदान गरिनेछ। यस सेमीनारमा काठमाण्डौं विश्वविद्यालयका प्रोफेसर, नास्ट ललितपुरका विज्ञहरुसँगको अन्तरक्रिया रहने छ। स्टीम कार्यक्रमकालागी कम्तीमा ११ विधामा पुरुकार प्रदान गरिने र प्रत्येक विधाका लागि तीन हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
टाढाबाट आएका विधार्थीहरुको खाना तथा आवासको वयवस्था आयोजकले नै गर्नेछ। स्टीम कार्यक्रमले विद्यार्थीहरुलाई दैनिक जीवनमा आईपर्ने समस्याहरुको समाधान निकाल्न, सिर्जनशील हुन तथा समालोचनात्मक हुन सिकाउने विश्वास आयोजकले लिएको छ।