दार्चुला: शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ। ठेकेदार कम्पनीकोे लापरबाहीले निर्माण अधुरै छ।
रोकिएको काम सुरु गर्न ६ पटक पत्राचार गरेपनि ‘नेता ठेकेदार’ले सत्ताको आडमा अटेर गरी निर्माण अलपत्र पारेको विद्यालयको आरोप छ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निमार्णका लागि २०७७/०७८ मा १ करोड ४५ लाख बजेट आएको थियो। ७६ प्रतिशत बिलो अर्थात ७९ लाख ४२ हजार रुपैयाँमा उषा निर्माण सेवा प्रालीले ठेक्का सकारेको थियो।
शैल्यशिखर नगरपालिका–१ बलाँचका लालिराम विश्वकर्मा (अभिषेक) उक्त कम्पनीका सञ्चालक हुन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका विश्वकर्माले ‘सत्ताको आडमा’ काममा लापरबाही गरिरहेको विद्यालय प्रशासनले जनाएको छ।
माओवादीमा जनयुद्धकालीन समयदेखिनै सक्रिय विश्वकर्मा हालका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगै नेकपा एमालेमा समाहित भएका थिए।
उनी सञ्चालक रहेको कम्पनी र विद्यालयबीच भएको सम्झौता अनुसार समयमै काम नगर्दा भवन निमार्ण कार्यमा ढिलाई भएको छ।
नमुना विद्यालय कार्यक्रम अन्तर्गतको उक्त भवन निमार्णको समयमै काम सम्पन्न गरी शिक्षा मन्त्रालयमा प्रगति विवरण पेश गर्नुपर्ने हुन्छ। तर ठेकेदारले समयमै काम नगरी हेलचेक्र्याई गर्दा मन्त्रालयमासमेत कामको प्रगति विवरण पेश गरिएको छैन्।
प्रगति विवरण पेश नहुँदा मन्त्रालयबाट आउने थप बजेट समेत रोकिने भएकाले नमुना विद्यालय कार्यक्रमनै धरापमा पर्नसक्ने विद्यालयका प्रधानाध्यापकधनञ्जय जोशीले बताए।
ठेकेदारलाई पटक–पटक भवन निमार्णमा ढिलाई नगर्न आग्रह गरेपनि सुनुवाई नगरेको उनको भनाई छ।
भवन निर्माणको टेण्डर पाएको उषा निमार्ण सेवाका सञ्चालक विश्वकर्मालाई काम गर्न पटक–पटक ताकेता, आग्रह र आह्वान गर्दा पनि केहि दिनमै बाँकी रहेको काम सुरु गर्ने भन्दै टारिरहेको प्रधानाध्यापकजोशीको भनाई छ।
भवन निमार्ण कार्यमा ठेकेदारले लापरबाही गरी अहिले काम गर्नै छोडिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर बिष्टले बताए।
ठेकेदारले भवनको तीन तल्लासम्म सबै पिलर र तीनै तलामा ढलान छत हाल्नुपर्ने सम्झौता भएको थियो। अहिलेसम्म पहिलो तलामा पिलर, ढलान पूर्ण रुपमा हालेको छ।
दोस्रो तलामा पिलर र ढलान मात्रै हालेर काठका भर्टिकल सपोर्ट दिएका बाँसको टेका समेत निकालेका छैनन्। तेस्रो तलाको सबै काम बाँकी छ। भवन निमार्णमा ठेकेदारले विद्यालयका बेन्च, विद्यालय परिसर भित्रका रुखहरु काटेर ढलानमा प्रयोग गरेको पाइएको छ।
समयमै ठेकेदारले काम नसक्दा विद्यालयले संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्र्तगत पाउने थप अनुदान समेत रोक्का हुन सक्ने विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जगदीश बिष्टले बताए।
सुरुमा निमार्ण सामाग्रीको अभावमा काम रोकिएको र अहिले सामाग्री पुगेकाले काम जारी रहेको बताउँदै यही चैतमा सम्पन्न गरिसक्ने ठेकेदार विश्वकर्माले बताए।
‘हामी काम गरिरहेका छौं। ८० प्रतिशत काम सकिएको छ। बीचमा सिमेन्ट र सरियाको भाउ बढ्यो, बढेको भाउमा निमार्ण सामाग्री खरिद गरेर हामी निमार्ण गर्न सक्दैनौं घाटा हुन्छ। त्यसैले काम रोकिएको हो,’ उनले भने।
ठेकेदार विश्वकर्माले काम सुरु भइरहेको दाबी गरेपनि त्यहाँ अहिले काम भने भएको छैन।