काठमाडौँ – सानिमा मिडिल तमोर हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आज फागुन २६ गते शुक्रबारदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो ।
यसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ ।
बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले अब सर्वसाधारणका लागि बिक्री गर्दैछ। यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।