काठमाडौँ- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा पिएनजीविरुद्धको खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ। जितसँगै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन अब एक जित मात्रै टाढा छ।
नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य १ विकेट गुमाएर २५४ बल बाँकी हुँदै पूरा गर्याे।
पिएनजीविरुद्धको जारी सिरिजको अन्तिम खेलमा नेपालले ९ विकेटको जित निकालेको हो। यो नेपालले विकेट अन्तरमा निकालेको सर्वाधिक फराकिलो जित हो। यसअघि नेपालले १२ फेब्रअरी २०२० मा युएसएविरुद्ध ५.२ ओभरमा नै २ विकेट गुमाएर ३६ रनको लक्ष्य पूरा गरेको थियो।
नेपालको जितमा आसिफ शेखले नवौँ एकदिवसीय अर्धशतक पूरा गरे। उनले २१ बलमा ५३ रनको अविजित इनिङ खेल्दा कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाएका थिए। त्यस्तै, कुशल मल्लले १३ बलमा १२ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो। पिएनजीका लागि कप्तान असद भालाको २० रन सर्वाधिक रह्यो।
त्यस्तै, सेसे बाउले १८ रन बनाउँदा चार्लिस अमीनीले १६ तथा हिरीहिरीले १४ रन बनाए। ओपनर किप्लिङ २ रनमा आउट हुँदा रिले हेकुरे ४ रनमा आउट भए। त्यस्तै, नोर्मन भनुवा १० बल खेल्दै शून्य रनमा पेभिलियन फर्किएका थिए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। त्यस्तै, सोमपाल कामीको नाममा १ विकेट रह्यो।