धनगढी: नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत धनगढीमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सोमबार सकिएको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।
जोशीकाअनुसार सोमबार धनगढीको वडा नम्बर १५,१८ र १९ मा अभिमुुखीकरण सकिएसँगै पहिलो चरणको अभियान सकिएको हो । अब मंगलबार (भोलि) पहिलो चरणको कार्यक्रमको समिक्षासहित नगरस्तरीय जनसंगठनको अभिमुखिकरण कार्यक्रम राखिएको छ भने दोस्रो चरणको अभियान अन्तरगत वडा, टोल कमिटि र सेल कमिटीसहित घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार कार्यक्रम अन्तरगत फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ ।
सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकामा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नालाई खटाइएको छ । ठगुन्नासँगै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीलाई खटाइएको छ ।