काठमाडौं – सुदूरपश्चिम विश्वविद्यालयले हालै प्राध्यापक र कर्मचारी गरी २९ दरबन्दीका लागि विज्ञापन आव्हन ग-यो।
सेवा आयोगमार्फत लामो समयपछि खोलिएको विज्ञापनमा अनेक टिकाटिप्पणी हुन थालेका छन्।
केही व्यक्तिलाई जागिर खुवाउने नियतका साथ विज्ञापन आव्हन भएको भन्दै गुनासो उठेको छ।
‘कुनै व्यक्तिलाई भित्र्याउन खोजे जस्तो देखिन्छ,’ विश्वविद्यालयका सह प्राध्यापक भुपेन्द्र विष्टले भने, ‘विज्ञापनमा डिभिजन खोलिएको छैन, विशेष आवश्यकता शिक्षाका लागि पनि स्नातकोत्तरमा जुनसुकै विषय भएपनि हुने तर एमफिल वा पिएचडीमा विशेष आवश्यक शिक्षा माग गरिएको छ, यसैले निश्चित व्यक्तिलाई भित्र्याउन खोजेको इण्डिकेट गर्छ।’
विश्वविद्यालयमा कर्मचारी भर्नाका विषयमा विवाद भएको पहिलो पटक होइन्।
२०६८ मा स्थापना भएको विश्वविद्यालयम जहिल्यै विवादमा रुमल्लिएको छ। सुदूरपश्चिममा विभिन्न क्याम्पसहरुलाई आंगिक बनाउनेदेखि कर्मचारी समायोजनलगायत विषयको विवाद अभैm टुंगिएको छैन।
सामान्य विवाद हुँदा पनि तालाबन्दी गर्ने परम्पराझै बनेको छ। विद्यार्थी संगठनदेखि प्राध्यापक, कर्मचारीसम्मले बेला बेलामा तालाबन्दी लगाउदै आएका छन्। सुरुवातदेखि नै विवाद झेल्दै आएको विश्वविद्यालयले शैक्षिक गतिविधिमा खासै प्रगति गर्न सकेको छैन।
‘विश्वविद्यालयभित्र राजनीति मात्रै भयो, कर्मचारी भर्नादेखि कार्यक्रम सञ्चालनसम्म सबैमा राजनीतिक खिचातानी चलिरहेको छ,’ विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्तले भने, ‘सुरुवातबाटै राजनीति हावी भएको छ, पदाधिकारीदेखि कर्मचारी सबै राजनीतिक दलका निर्देशनमा चलेका छन्।’
उनले विश्वविद्यालयले शैक्षिक गति लिन नसक्नुको मुल कारण यहिँ भएको बताए।
विश्वविद्यालयमा क्याम्पस आंगिक बनाउने देखि कर्मचारी समायोजनका विषयमा व्यापक अनियमितता भएको भन्दै २०७५ मा सरकारले विभिन्न समिति बनाएर छानबिन गरेको थियो।
तत्कालिन उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्घिजराज भट्टले अनियमितता गरेकाले उनीहरुलाई निलम्बन गरी छानबिन टोली समेत गठन गरिएको थियो।
विश्वविद्यालय अनुदान आयोगका तत्कालिन अध्यक्ष प्राध्यापक डा. भीम प्रसाद सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। त्यसअघि गठन भएको विभिन्न समितिको प्रतिवदेन समेत अध्ययन गरेर वास्तविकता पत्ता लगाउन गठित उक्त समितिको प्रतिवेदन सार्वजनिक भएन।
‘हामीले तयार पारेको प्रतिवेदन नै सार्वजनिक भएन,’ प्राध्यापक डा. सुवेदीले भने, ‘विगतका समितिले तयार पारेको रिपोर्ट संष्लेषण गर्ने हामीलाई जिम्मेवारी थियो।’ उनका अनुसार त्यसअघि राष्ट्रिय योजना आयोगका तत्कालिन सदस्य उषा झाँको संयोजकत्वमा कर्मचारी समायोजन सम्बन्धी छानबिन समिति गठन भएको थियो।
तत्कालिन अवस्थामा सबैभन्दा ठुलो विवाद क्याम्पसहरुलाई आंगिक बनाउने र कर्मचारी समायोजन गर्ने नै थियो। विश्वविद्यालय ऐनमा आंगिक क्याम्पस बनाउदा कर्मचारीको समायोजन यथास्थितिमै हुने भनिएको छ।
यहिँ कुरालाई टेकेर क्याम्पसहरु आंगिक बनाउदा सञ्चालक समतिले मनपरी ढंगले कर्मचारी भर्नादेखि बढुवा समेत गरेको गुनासो उठेको थियो।
‘कर्मचारी समायोजनको काम अझै टुंगिएको छैन,’ विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले भने, ‘अझै पनि ६६ जना कर्मचारीको दरबन्दी मिलान गर्न बाँकी छ।’ उनले विश्वविद्यालयको ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम नै समायोजन गरिएको बताए।
एक केन्द्रीय र १५ आंगिक गरी १६ क्याम्पसमा १७ हजार हाराहारी विद्यार्थी अध्ययनरत छन्। महेन्द्रनगरस्थित केन्द्रिय क्याम्पसमा साढे ४ हजार र धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा ३५ सय विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
‘पछिल्लो समय कानुन, कृषि र इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढदै गएको छ,’ विश्वविद्यालयका सहप्रशासक सन्तोश विष्टले भने, ‘केन्द्रीय क्याम्पसमा विद्यार्थी संख्या निकै राम्रो छ, इन्जिनियरिङ, विज्ञान प्रविधिलगायतमा विद्यार्थीको संख्या उल्लेख्य छ।’
विश्वविद्यालयले टीकापुरमा कृषि विज्ञानको पठनपाठन सुरु गरिसकेको छ। डडेल्धुरामा मेडिकल शिक्षाका लागि डीन नियुक्त गरेर विभिन्न गतिविधि गरिरहेको जनाएको छ।
‘यस वर्ष डडेल्धुरा उपक्षेत्रिय अस्पताललाई तीन सय सय्याको बनाइनेछ,’ रजिष्ट्रार पाठकले भने, ‘अर्काे वर्षसम्म मेडिकल सम्बन्धी स्नातकोत्तरको पठन पाठन सुचारु गर्ने योजना छ।’ विश्वविद्यालयले गतवर्ष असोजमा हेमनाथ जोशीलाई मेडिकल साइन्सको डीन नियुक्त गरेको छ।
२०६८ असारमा स्थापना भएको विश्वविद्यालयले १ वर्षपछि उपकुलपति प्रा. जयराज अवस्थीको नियुक्तिसँगै प्रशासनिक कामकाज सुरु गरेको थियो।
२०६९ मंसिरदेखि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस (हालको केन्द्रिय क्याम्पस) लाई समायोजन गरी पठन पाठन सुरु भएको हो। पठन पाठन सुरु भएयता १० वर्षको अवधीमा २७ पटक गरी ८ सय भन्दा बढी दिन केन्द्रीय कार्यालयमा ताला लागेको छ। दुई वर्षभन्दा बढी समय तालाबन्दीमै बितेको छ।
२०६८ मा स्थापना भएको विश्वविद्यालयले ०६९ देखि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसलाई केन्द्रीय क्याम्पस बनाएर पठनपाठन सुरु गरिएको हो।
सुरुवातदेखि नै तालाबन्दीको मार खेपेको विश्वविद्यालयमा हालसम्म ८ सय भन्दा बढी दिन ताला लागेको छ। कहिले कर्मचारी भर्नाको विरोध त कहिले पदाधिकारी नियुक्तिको विरोधमा बन्द हुदै आएको छ।
विश्वविद्यालयमा भौतिक पूर्वाधारको अवस्था पनि अझै दयनिय छ। पुस्तकालय, छात्रवास, कक्षाकोठा र इण्डोर खेलका लागि कभर्ड हलको अभाव रहेको छ।
केन्द्रीय क्याम्पससँगै आंगिक क्याम्पसहरुमा पनि कक्षा कोठाको अभाव रहेको रजिष्ट्रार पाठक बताउँछन्। यति मात्रै होइन्, उपकुलपतिदेखि डीन लगायत पधाधिकारीका लागि आवासिय भवन अहिले पनि भाडामै चलिरहेको छ। यस वर्ष आवासिय भवन निर्माणको प्रक्रिया अघि बढेको पाठक बताउँछन्।