काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ग्रामिण आदर्श ब.क्याम्पसमा राप्रविसंलाई निर्विरोध घोषणा गर्न माग गरेको छ । निर्वाचनमा राप्रविसंको मात्र उम्मेदवारी पर्नाले निर्विरोध घोषणा गर्न माग गरेको हो । यद्यपी निर्वाचन समितिले मनोनयनपत्र दर्ता गर्न आनाकानी गरेको छ ।
आज आईतबार एक विज्ञप्ती जारी गर्दै राप्रविसंले निर्विरोध घोषणा गर्न माग गरेका हुन् । राप्रविसं ग्रामिण कलेजका अध्यक्ष किरण भट्टले निर्विरोध निर्वाचित भएको घोषणा नगरेमा राजनैतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने जनाएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मनोनयन दर्ता गर्ने समय २०७९/११/२७ गते ठिक ११:०० बजे राप्रविसंले मनोनयन फाराम निर्वाचन आयोगमा बुझाएका हुन् भने निर्वाचन समितिले भने संगठनहरु बिचमा सहमति कायम नभएको भन्दै दर्ता गर्न आनाकानी गरेको छ ।
त्रि.वि.को निर्वाचन सम्वन्धी निर्देशिकामा भने तोकिएको निश्चित समयभित्र रितपुर्वक मनोनयन फाराम बुझाउन आएमा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । तोकिएको समयमा रितपुर्वक आएका मनोनयन फाराम दर्ता गर्नका लागि सहमति लिनु नपर्ने राप्रविसंका निवर्तमान केन्द्रीय संयोजक जय प्रकाश बगालेले धारणा राखेका छन् ।
शनिवार राप्रविसंका धनमोल ऐडि नेतृत्वको १९ सदसिय प्यानलको मनोनयन फाराम बुझाएका हुन् । त्रि.वि.को कार्यतालिका अनुसार आईतबारसम्म दावि विरोध गर्ने समय रहेको र सोमवारसम्म उम्मेदवारी फिर्ता गर्ने समय रहेकोमा उक्त समयसम्म कसैको दावि विरोध पनि नपरेको र उम्मेदवारी फिर्ताको निवेदन समेत नपरेकाले राप्रविसंले उक्त प्यानललाई निर्विरोध घोषणा गर्न माग गरेको छ ।