धनगढीः कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् ।
प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका हरिश खत्रीलाई पराजीत गर्दै जोशी विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल क्रान्तिकारी दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो । विद्यार्थी संगठनहरुबीच स्थानबारे सहमती नहुँदा बिहीबार बिहानसम्म मतगणना हुुन सकेको थिएन । ११ बजे कैलाली क्याम्पसमै गणना गर्ने सहमती भएको थियो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएपनि सदस्यहरुको गणना गर्न बाँकी छ ।