काठमाडौँ – नेपालमा पहिलो पटक अच्युतचण्डी र गणपति विराट महायज्ञ हुने भएको छ । महायज्ञ आगामी वैशाख १० देखि २४ गतेसम्म पशुपतिनाथ एवं वनकाली भगवतीको प्राङ्गणमा हुन लागेको हो ।
अच्युतचण्डी महायज्ञ आयोजक समितिले आइतबार एक विज्ञप्ति जारी गरेर एक सय कुण्डीय विराट अच्युतचण्डी र गणपति महायज्ञ हुन लागेको जनाकारी गराएको हो । महायज्ञका लागि फागुन २७ गतेदेखि पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमि पूजन एवं सङ्कल्प सुरु भएको छ । महायज्ञमा श्रीमद्भागवत कथा सन्त सम्मेलन एवं श्रीकृष्ण रासलीला कार्यक्रम पनि हुनेछ ।
महायज्ञ प्रत्येक दिन बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुका ६ बजेसम्म आयोजना हुनेछ । अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखर जी महाराजको सान्निध्यमा तथा मारवाडी सेवा समिति नेपालको तत्त्वावधान २ सय ५१ ब्राह्मणद्वारा एक सय कुण्डीय महायज्ञ हुन लागेको हो ।