काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा साेमबारका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित गरेको हो ।
बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो । सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदावी गरिएको छ । दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
लामिछानेलाई पाटन उच्च अदालतले विदेशमा जान रोक लगाएकाे थियो। जसविरुद्धमा सर्वोच्चमा पुगेका लामिछानेलाई सर्वोच्च अदालतले विदेश जानका लागि स्वीकृत प्रदान गरेकाे थियाे ।