काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी कांग्रेससँग अन्य दलहरुको तुलना नहुने बताएका छन् । नेपाली कांग्रेसको एकमहिने अभियान अन्तर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले वर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको बताए । नेता सिंहले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता कांग्रेसलाई आई परेको बताए ।
स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने र उक्त निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने बताए । यस्तै उनले कांग्रेसका सबै कमिटीहरुले उमेदवार सिफारिश गर्दा विधानको परिधि भित्र रहेर गर्न समेत आग्रह गरे । टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जसले पाउछ त्यो पार्टीको उमेदवार हुने भएकाले सबै एकढिका भएयर जिताउन लाग्नुपर्ने उनको भनाई रहेको छ ।
नेता सिंहले वर्तमान सरकारको मुख्य दायित्व भनेकै संविधानलाई ट्रयाकमा ल्याउने र संविधान र कानुन बमोजिम समय सीमा भित्र निर्वाचन गराउने भएको बताए ।