कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले लिने विश्वासको मत अझै अनिश्चित बनेको छ । नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । २१ दिन पुग्दा पनि कुन दिन र कहिले विश्वासको मत दिने भन्ने अझै सुनिश्चित भएको छैन ।वैशाख ६ गते मुख्यमन्त्री सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री सोडारीले बझाङ निर्वाचन पछि विश्वासको मत पाउने आश्वासन पाएका थिए तर, अहिले बझाङबाट निर्वाचित दमन भण्डारीले शपथ नलिएसम्म एमालेले विश्वासको मत नदिनेमा उनी विश्वस्त भइसकेका छन् ।यस अघि दुई पटकसम्म मुख्यमन्त्रीले विश्वासको मत लिने तयारीका गरेको प्रयास असफल भएको छ ।
मुख्यमन्त्रीले कुनै छलफल नगरेको भन्दै एमाले थप चिढिएको थियो ।
एमाले संसदीय दलका नेता राजेन्द्र बहादुर रावल, प्रमुख सचेतक सुरेन्द्र पालले काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सुदूरपश्चिम प्रदेशको अवस्था बारे जानकारी दिएका थिए ।
ओलीले पनि तत्काल विश्वासको मत दिन हतार नगर्न सांसदहरूलाई निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि यहाँका सांसदहरू थप ढुक्क देखिएका छन् ।
अहिले मुख्यमन्त्री सोडारी पनि काठमाडौँमै छन् । उनी पनि नेता र नेतृत्वसँग छलफलमा छन् । अहिले सम्म पनि केन्द्रमा सोडारीलाई कहिले विश्वासको मत दिने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन । प्रदेश सभा बैठक अनिश्चित छ भने अन्य दलहरूले पनि तयारी गरेका छैनन् ।