काठमाडौँ – नेपाली काँग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विज्ञसँग समग्र विधेयकको अर्थ, उद्देश्य र कानुनी पाटोबारे काँग्रेसले अन्तर्क्रिया गरी विधेयकबारे सांसदलाई जानकारी गराएको हो ।
उक्त कार्यक्रमपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरूप प्रस्तावित विधेयकबारे विज्ञसँग गहन छलफल र अन्तरक्रिया भएको बताए ।
विधेयकको अर्थ, कानुनको आवश्यकता र पक्षमा सांसदले राखेको जिज्ञासालाई विज्ञले स्पष्ट पार्ने कोसिस गरेका थिए । प्रमुख सचेतक लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याएर पीडितले न्याय पाउने, परिपूरण प्राप्त गर्ने र समाजमा मेलमिलाप पनि हुने स्थिति सिर्जना गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको प्रतिक्रिया दिए ।
उनले भने, ‘अब सशस्त्र द्वन्द्वका समयमा जति पनि घटना भएका थिए, त्यसलाई उचित ढङ्गले तार्किक निष्कर्षमा पुर्याउनुपर्छ भन्नेमै छलफल केन्द्रित रह्यो ।’ छलफलमा दुवै आयोगका हालसम्म भएका र अब गर्नुपर्ने काम, ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय कानुन, अबको बाटो र कानुनमा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा विज्ञले जानकारी गराए ।
विज्ञका रूपमा पूर्व मन्त्री डा मीनेन्द्र रिजाल, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सत्यनिरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष गणेशदत्त भट्ट, संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्व अध्यक्ष राजु चापागाईँ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्व सदस्य गङ्गा धार अधिकारीलाई आमन्त्रण गरिएको थियो । छलफलका क्रममा विज्ञहरूले दलगतभन्दा सांसदले व्यक्तिगत वा समूहगत संशोधन हाल्न सुझाव दिएका थिए ।
प्रतिनिधिसभाबाट गत आइतबार उक्त विधेयकमाथि विचार गरियोस् भनी राखिएको प्रस्ताव स्वीकृत भएको छ । विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय प्रदान गरेकामा हालसम्म सांसद चित्रबहादुर केसी, गोकुल बास्कोटा, रघुजी पन्त, मैना कार्कीसहितले फरक फरक विषयमा संशोधन हालेका छन् ।
उनीहरूले खास गरी द्वन्द्वका समयमा भएका सबै घटनालाई एउटै आधारमा हेरिन नहुने तथा आयोगको कार्यकालका विषयमा केन्द्रित रही संशोधन हालेको थाहा भएको छ ।