धनगढी: ‘नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अछाम आउन लागेको जानकारी नै दिइएन। यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ मंगलवार बिहान धनगढीमा एमालेका नेता डा. भीमबहादुर रावलले भनेका थिए। हिजोको मिसन ग्रासरुट अभियानको लागि अछाम पुगेका पौडेल सहभागी कार्यक्रममा भाडभैलो भएपछि आज बिहान नेता रावलले पत्रकार भेटघाट कार्यक्रम राखे। उनले त्यहाँ उक्त कार्यक्रमका लागि पौडेल आउने कुरा जानकारी नै नभएको जनाएका थिए। त्यसक्रममा रावलले समसामयिक देशको राजनीति र आफ्नो पार्टी राजनीतिबारे पनि चर्चा गरेका थिए।
त्यस लगत्तै आज (मंगलवार) नै उपाध्यक्ष पौडेलले पनि धनगढीस्थित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा नेता रावलको टीप्प्णीमा जवाफ फर्काएका छन्। उनले डोटी पुगेर रावललाई जवाफ फर्काएका हुन्।
‘उहाँ (रावल) ले अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ,’ डोटीमा आयोजित एक ग्रासरुट कार्यक्रममा पौडेलले भने, ‘तर, तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो।’
सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन्।’ अछाम जानका लागि रावललाई जानकारी दिन आवश्यक नरहेको उनको भनाई थियो।
यस्तै पौडेलले नेता रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए। रावलले गम्भीर गल्ती गरेकोमा पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए। उनले भने, ‘हाम्रो पार्टीले संसदमा रोष्ट्रम घेराउ गर्ने निर्णय गर्छ, उहाँ आफ्नो कुर्चीमा बसिराख्नु हुन्छ, पार्टीले ह्वीप जारी गर्छ, उहाँ उल्लंघन गर्नुहुन्छ’, पौडेलले थपे, ‘पार्टीले जे निर्णय गर्यो त्यसका विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँड्नुहुन्छ।’ उनले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रावलले पार्टीका उम्मेदवारका लागि भोट नमागेको समेत आरोप लगाए।
पार्टीको १०औं महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिएको तर उनले अध्यक्षमै चुनाव लड्ने भनेपछि चुनाव भएको पौडेलले बताए। ‘चुनाव लड्नुभयो, कार्यकर्ताले विश्वास गरेनन्, उहाँ हार्नुभयो’, पौडेलले भने, ‘त्यसपछि उहाँलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको थियो, तर उहाँले त्यो जिम्मेवारी स्वीकार्नुभएन।’
पार्टीको निर्देशन मान्नु सबै सदस्यहरुको कर्तव्य भएको भन्दै पौडेलले अब रावलसँग दुई विकल्प बाँकी रहेको बताए। उनले भने, ‘कि त उहाँले आफ्ना गल्तीहरु स्वीकारेर अब पार्टीले दिएको जिम्मेवारी लिने प्रतिबद्धतासहित सच्चिएर आउनुपर्छ, होइन भने पार्टीभित्र बसेर पार्टीविरुद्ध जाने कुरा स्वीकार्य हुन्न।’ उनले संकेत गरेअनुसार एमालेले रावललाई कारबाही गर्ने सम्भावना देखिन्छ।