धनगढी – मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको छ। सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढी रंगशालामा शनिबार भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो।
थ्री स्टार पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रोपटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको हो। थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरेका थिए।
अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए।
उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ।
सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा लगायतले पुरस्कृत गरेका छन्।