धनगढी : राष्ट्रिय युवा संघ नेपाल कैलालीको अधिवेशनमा सहमतिको नाममा टिके प्रथाबाट नेतृत्व चयन गरिएको आरोप लागेको छ। जिल्ला सचिवका आकांक्षीसमेत रहेका भीम बडैलाको समूहले यस्तो आरोप लगाएको हो। हिजोदेखि सुरु भएको अधिवेशन घोडाघोडीको सुखडमा आज सम्पन्न भएको थियो। उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
तर, अर्को पक्ष भने उक्त कमिटी स्वीकार्ने पक्षमा छैन। उनीहरुले नेतृत्व चयन तथा सचिव पदमा अधिवेशन प्रक्रिया र विधि प्रक्रिया मिचिएको जनाएका छन्।
उनीहरुले अहिले सामाजिक संजालमा विरोध समेत चर्काएका छन्।
हेर्नुस् सचिवका आकांक्षीसमेत रहेका भीम बडैलाको स्टाटस
राष्ट्रिय युवा संघ नेपाल कैलालीको सुखडमा सम्पन्न नवौं जिल्ला अधिवेशनले संगठनको विधि, विधान, नीति र पद्धतिको नांगो उलंघन गर्दै केही सिमित नेताहरुको स्वार्थमा टिकेप्रथाको थालनी गरेको छ। सचिव पदमा मेरो दाबी कायम हुँदाहुँदै मेराे कुनै सहमति नलिई एकलौटी तरिकाले, अवैध रुपमा अमुक व्यक्तिलाई टीका लगाएइको छ। सर्वसम्मतिका नाममा भएको यो प्रवृत्तिप्रति घोर आपत्ति जनाउँदै खेद प्रकट गर्दछु। म लगायत हाम्रो संगठनप्रती जिम्मेवार, निष्ठावान र कटिबद्ध नेता तथा कार्यकर्ताहरुमाथी यो प्रवृत्तिले अन्याय तुल्याएको छ। संगठनलाई बलियो बनाउन संगठनको आन्तरिक लोकतन्त्रको कसी मानिने निर्वाचन प्रक्रियाको बैधानिक व्यवस्था हुँदाहुँदै जुन किसिमले टिकेप्रथा लादियो यसको मूल्य सम्बन्धितहरुले चाडै चुकाउनुपर्ने छ। संगठनमा विधी, थिती र पद्धति कायम गर्न हामी जुनसुकै कदम पनि चाल्न तयार छौं । यसबाट हुने क्षतिकाे जिम्मेवारी टिकेप्रथाका मतियारहरूले लिनुपर्नेछ ।