धनगढी – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका चार नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ। राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरुलाई उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका–१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त–५ का रतन ठगुराठी र गोबिन्दप्रसाद जैसीलाई कुटपिट गरेका हुन्।
एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए। ‘भारतबाट नेपाल आफन्त आउन लागेका थिए,’ उनले भने, ‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०/४० मिटर वर नै रोकेर ब्यारेल बन्द भयो, जान पाइँदैन भनेर रोक्यो, जाने नै भए उता सा’बलाई सोधेर आउ भन्यो, सोध्न जाँदै थिएँ लाठी र पैनाले कुटपिट गरे।’ कार्कीले आफूसंगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको तर, उनीहरुलाई आफूले नचिनेको बताए।
छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानवअधिकारको समेत उल्लंघन भएको स्थानीय युवाहरुले भत्र्सना गरेका छन्।
यता, स्थानीय सशस्त्र प्रहरीका अधिकारीले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अब उपरान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन्।