धनगढी – बैतडीमा भएको जिप दुर्घटनाका घाइतेको संख्या १४ पुगेको छ। गणमेश्वरबाट देहीमाडौंतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ तिलकपुर भीटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको थियो।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार घाइते हुनेहरूमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका-५ मस्नेटाकी ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, ४ वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र ३ वर्षीय रोशन भट्ट रहेका छन्।
पञ्चेश्वर गाउँपालिका-६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन्। घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
जिप ब्रेक फेल भएर सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। जिप दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीलगायत सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो।