धनगढी – सरकारले कर्मचारीको सरुवा गरेपछि सुदूरपश्चिममा सरकारी सेवाका कर्मचारीहरु सरुवा रोक्ने कसरतमा जुटेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीको सरुवा गरेपछि यतिबेला कर्मचारीहरु मन्त्री, नेता र उच्च तहका पदाधिकारीसमक्ष हारगुहार गरिरहेका छन् ।
यसैबीच प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बम पनि सरुवा रोक्ने कसरतमा जुटेको चर्चा सुरु भएको छ । मन्त्रालयले डाक्टर बमको बझाङमा सरुवा गरेपछि उनी सरुवा रोक्ने तयारीमा लागेको स्रोतको दाबी छ । ‘मन्त्रालयले उहाँको सरुवा गरेको पत्र फागुन २८ गते पठाएको छ । उहाँको सरुवा बझाङमा भएको छ ।’, स्रोतले भन्यो, ‘तर, उहाँ सरुवा भएर जाने मनसायमा देखिनुहुन्न । सकेसम्म प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमै बस्ने गरी लविङ उहाँले सुरु गर्नुभएको छ ।’
यता सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका निमित्त सचिव गणेश सिंहले पनि बमको सरुवा भएको पुष्टि गरेका छन् । मन्त्रिपरिषद्को निर्णयबाटै बमको बझाङ सरुवा भएको सिंहले बताएका छन् । ‘उहाँको बझाङमा सरुवा भएको हो । तर, रमाना लिनुभएको छैन । रमाना लिन भने बाँकी छ’, सिंहले भने, ‘उहाँसँगै सरुवा भएकाहरुले रमाना लिईसक्नुभएको छ । उहाँको चाहिँ रमाना लिन बाँकी छ ।’
यस विषयमा हामीले प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डा.खगेन्द्र बमले भने समय बाकी रहेकाले जता पठाएको छ त्यहाँ जाने बताए।
डाक्टर बम करिब १० वर्षदेखि धनगढीमै रहेका बिभिन्न स्वास्थ्य क्षत्रेमा कार्यरत छन् । स्रोतले दिएको जानकारी अनुसार उनी धनगढीस्थित केजि अस्पतालका सेयरहोल्डरसमेत हुन्। तर यो कुरा पुष्टि हुन बाकी छ। यस्तै अहिले उनी सुदूरपश्चिमको सामाजिक बिकास मन्त्रालयको नेतृत्व माओवादीले पाउने देखिएपछि आफू माओवादी निकटको भन्दै उपल्लो माओवादी नेतृत्वसम्म धाइरहेका सरुवा रोक्न प्रयासरत छन्। सरुवा भएको २१ दिनभित्र रमना बुझेर गइसक्नुपर्ने नियम भएपनि बम हालसम्म आयुर्वेदिक चिकित्सालयकै प्रमुखमा कार्यरत छन्।