धनगढी- बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरको तयारी तिव्र पारिएको छ । बैतडी समाज कैलालीले बैशाख ८, ९ र १० गते मेलौली नगरपालिकामा रहेको प्रार्थमिक स्वास्थ्य चौकी परिषरमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।
पुख्र्यौली घर बैतडी भएर कैलालीमा बसोबास गर्दै आएका ब्यक्तिहरुले समाजको गठन गरेर समाजसेवा गरिरहेका हुन् ।
समाजले हरेक वर्ष बैतडी जिल्लाको दुर्गम भेगका जनतालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटनमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ ।
बैतडीको मेलौलीमा हुने स्वास्थ्य शिविरमा विभिन्न ८ विधाका चिकित्सकहरुले निशुल्क स्वास्थ्य जाँच गर्नेछन । शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, जनरल फिजिसियन, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग र बालरोग विषेशज्ञहरुले निशुल्क परामर्ष सेवा प्रदान गर्ने समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए ।
शिविरमा धनगढी नेत्रालयले निशुल्क आँखा जाँच तथा सल्यक्रिया सेवा समेत प्रदान गर्नेछ । दुर्गममा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिने स्वास्थ्य शिविरमा मेलौली नगरपालिका, पाटन नगरपालिका, शिबनाथ र पञ्चेश्वर गाउपालिकाका गरी चार वटा स्थानीय तहका नागरिकहरु लक्षित गरिएको छ ।
शिविरमा सबै प्रकारको औषधी निशुल्क वितरण गरिने पनि समाजले जनाएको छ । शिविरमा अरु संघ संस्थाले पनि सहयोग गर्ने क्रम बढेको समाजले जनाएको छ । सामाजिक विकास मन्त्रालयले सोमबार मात्रै शिविरका लागि झण्डै डेढ लाख रकम बराबरको औषधी हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्यालले मन्त्रालयको तर्फबाट समाजलाई औषधी हस्तान्तरण गरेका हुन् ।
रोटरी क्लब अफ धनगढी, फाया नेपाल जस्ता तीन दर्जन संघसंस्था र ब्यक्तिहरुले दुर्गमका जनता लक्षित स्वास्थ्य शिविरलाई सहयोग गरेका छन । विभिन्न औषधी कम्पनीहरु, नीजि अस्पतालहरुले पनि चिकित्सा सेवा र औषधी दिनेक्रम जारी रहेको स्वास्थ्य शिविरका संयोजक तथा समाजका उपाध्यक्ष गजेन्द्रबीर चन्दले जानकारी दिए ।
बैतडी समाज कैलालीले हरेक वर्ष दुई पटक रक्तदानको आयोजना पनि गर्दै आएको छ । रगतको अभावलाई लक्षित गर्दै समाजले हरेक ६÷६ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो ।