काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको हो । शेखर गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरुसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन ।
कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् ।
देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जानै नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको नामको शपथ पनि रोकिदिए ।
प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् ।
नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारीमा रहेका देउवाले शेखर–गगन समूहलाई दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेको अवस्था छ । शेखर–गगन समूहले देउवाको उक्त प्रस्ताव पनि पनि स्वीकार गरेको छैन। तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने अडान लिएको शेखर गगन समूहले आजको बैठकबाट समूहगत निर्णय लिन लागेको ती पदाधिकारीले बताए । उनले भने, ‘तीन मन्त्री नपाएसम्म नाम पठाउने कुरा हुँदैन । आज हाम्रोभित्र मन्त्री छनोटको मापदण्ड पनि बन्छ ।’