कञ्चनपुर: महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ। यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन।
उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन। महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए। ‘वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ,’ उनले भने। आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ।
सडक निर्माणका लागि ठकेदारसित सम्झौतासमेत भइसकेको अवस्था छ। महाकाली लोकमार्गको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म १५ किलोमिटर ट्रयाक खोल्न दिवा–सनिदेवसँग काम २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो। लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने जोशीले जानकारी दिए। रासस