बझाङः बझाङको साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ। ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।
आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ। “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेकोे छ”, उनले भने। प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ।
जलविद्युत आयोजना साइपाल–४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको सङ्गमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए।
देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत गृहस्थलमा नियमित अध्ययन गरिरहेको छ।
स्थानीयवासीद्वारा स्वागत
आफ्नो ठाउँमा जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय उत्साहित भएका छन्।
जिल्लाको सबैभन्दा अग्लो ठाउँमा ठूलो विद्युत् बनेपछि सबै पूर्वाधारमासमेत विकास हुने भन्दै उत्साहित भएका हुन्। धुलीका कपिल बोहराका अनुसार आयोजनाले साइपालको समृद्धि, विकास र जनताको जीवनस्तर सुुधार हुने अपेक्षा स्थानीयवासीले गरेका छन्। “ठूलो जलविद्युत बन्नु भनेको विकासको मूल फुट्नुजस्तै हो,” बोहराले भने, “यति ठूलो आयोजना बनेपछि सडक बन्छ, भौतिक पूर्वाधार पनि बन्छन्। स्थानीयवासीलाई रोजगारी मिल्छ । जमिनको पनि उचित मूल्य पाइन्छ।” साइपाल–४ का सोनाम तामाङले पनि जलविद्युत आयोजना निर्माण हुँदा साइपालवासीको मुहार फेरिनेमा विश्वास व्यक्त गरे।
निर्माण कम्पनीका अनुसार बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि ४१ अर्ब ६४ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ। जसमा ७० प्रतिशत अर्थात् २९ अर्ब निर्माण कम्पनीले विभिन्न बैंकमार्फत् लगानी जुटाउनेछ भने ३० प्रतिशत अर्थात् १२ अर्ब रूपैयाँ सर्वसाधारणको हुनेछ। कम्पनीका अनुसार विसं २०९० सम्ममा आयोजनाको निर्माण पूरा भएर बिजुली उत्पादन हुनेछ।
वन कति मासिन्छ ?
आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ। निर्माण कम्पनीको इञ्जिनीयर सञ्जिव बुढाथोकीका अनुसार सामुदायिक २८ दशमलव ८० सरकारी र १२ दशमलव ५५ सामुदायिक वन गरी ४१ दशमलव २५ हेक्टर वन स्थायी संरचनाका लागि मासिनेछ।
एक दशमलव ४० हेक्टर सरकारी र १५ दशमलव ४० सामुदायिक वन गरी १६ दशमलव ८० हेक्टर अस्थायी संरचनाका लागि वन मासिने बुढाथोकीले बताए। परियोजना निर्माणका क्रममा मासिने रूख बिरूवाको सट्टामा ५४ हजार बिरूवा वरिपरि रोपिने कम्पनीले जनाएको छ। धुलीमा ईआइए सार्वजनिक गर्दै बुढाथोकीले भने, “वन नियमावली २०७९ अनुसार क्षति पुग्ने वन क्षेत्रको सट्टा ५३ हजार छ सय ७० बिरूवा निर्माण कम्पनीले लगाउने र संरक्षण गर्नेछ।”
वातावरणीय प्रभाव अभिवृद्धि तथा विभिन्न सीप विकासका तालिमका लागि २३ लाख ९० हजार र प्रभाव न्यूनीकरणका लागि दुई करोड १० लाख विनियोजन गरेको उनले बताए। रासस