काठमाडाैं – बालिका अपहरण गरी १५ लाख फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । प्रहरीले धनुषा कमला नगरपालिका–२ घर भई जनकपुर उपमहानरपालिका–१६ बस्ने ध्रुव कुमार मण्डलकी ४ बर्षीया छोरी अपहरण गर्ने ३ जनालाई आइतवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा नगरपालिका–३ सिजियाहीका २१ बर्षीय अरविन्द मुखिया, जनकपुर उपमहानरपालिका–१ का २१ बर्षीय रविकुमार दास र कमलामाई नगरपालिका–८ सोनापाराका २० बर्षीय अभिषेकचन्द्र दास छन् ।
उनीहरुले योजना बनाएर चैत १० गते अपहरण गरेर परिवारलाई १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । ९८१४८१२५९१ सिम नम्बरबाट १५ लाख रूपैयाँ माग गरेको नत्र छोरीलाई मारेर फालिदिने धम्की दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले प्राविधिक विश्लेषणको आधारमा पहिला अभिषेक चन्द्र दासलाई नियन्त्रणमा लिएको थियो । उनले धनुषाको विदेश नगरपालिकामा राखेको जानकारी गराएपछि बालिकालाई सकुशल उद्धार गरेको डीएसपी बस्नेतले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेको टोलीले अन्य २ जनालाई नियन्त्रणमा अपरेशन चलाएको थियो । उनी अपहरण गरेर राखेको स्थानबाट उनीहरु भाग्न थालेपछि पक्राउ गर्नका लागि ५ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।