काठमाडौं – पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो ।
नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।
यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।
खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३-० ले पछि परेको थियो ।
दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो ।
भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५-१ ले विजयी भयो ।
खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् । अमिशा कार्कीले खेलको ९ मिनेटमा पाएको सुनौलो अवसर सदुपयोग गर्न सकिनन् । दीपा शाहीले दाया साइडबाट दिएको पास अमिसाले गोल लाइनबाट प्रहार गर्दा पोष्ट माथिबाट बाहिरिएको हो ।
खेलको ३४औं मिनेटमा अमृता जैशीको फ्रिकिकमा अमिशाले निकै फितलो प्रहार गर्दा गोलकिपरले बचाउ गरिन् । ८५ औं र ८६ औं मिनेटमा सावित्राले प्रहार गरेको बल भियतनामकी गोलरक्षक कोङ थि हाङले बचाइन् ।