टेकसिंह धामी
धनगढी – अस्ती २१ चैतमा धनगढीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले चिकित्सक र स्वास्थ्यकर्मीं छनोटमा चलखेल रोक्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए। उनले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्मचारी पदपुर्तिमा आर्थिक र राजनीतिक चलखेल भइरहेको भन्दै उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
समितिकै सदस्य समेत रहेका उनले भित्रीरुपमा चलखेल भइरहेको आरोप लगाएपछि यो कुरा झन बल्झिएको छ। अस्पतालले करार सेवामा व्यवस्थापन मापदण्ड २०७९ अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको थियो। ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपुर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो।जसमा ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदहरुमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।
पदपूर्ति प्रक्रिया नै विवादित
अस्पतालमा कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया नै विवादित बनेको बताइएको छ। अस्पताल प्रशासनले कर्मचारी पदपूर्ति गर्न सजिलो र छोटो प्रक्रियामार्फत जान खोजेपछि विवाद बढेको हो। अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार नै पदपूर्ति प्रक्रिया जारी राखेको छ।
महामारीका बेलाको मापदण्ड अपनाएको, लिखित परीक्षा लिनुपर्नेमा अन्तर्वार्ता मात्र राखेको भन्दै उजुरी समेत परेको छ। छनोट मापदण्डबारे पुनर्विचार गर्नुपर्ने, लिखित तथा मौखिक परीक्षा लिएर मात्र पदपूर्ति प्रक्रिया पुुनः थाल्नुुपर्ने मागसहित उजुरी परेको हो।
उजुरी परेपछि अस्पतालले सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी पठाएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्याय जानकारी दिए। प्रादेशिक अस्पतालले ६ चैतमा ७ दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५÷५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो। सूचना अधिकारी उपाध्यायका अनुसार नवौं तहको विशेषज्ञ चिकित्सकतर्फ पेडियाट्रिसियन, साइक्याट्रिक, मेडिकल जनरलिस्ट र रेडियोलोजिस्टमा आवेदन परेको छैन। सेवा, सुविधा कम भएका कारण प्रायः पदमा चिकित्सकहरु आउने नमान्ने समस्या रहेको बताइन्छ।
यी बाहेकका पदमा १ हजार ८३ जनाको आवेदन परेको छ। यता, सामाजिक मन्त्रालय स्रोतले भने उजुरीका सम्बन्धमा छानविन चलिरहेको जनाएको छ। कोभिड–१९ महामारीलाई लक्षित गरेर बनेको कार्यविधिबाट सामान्य समयमा पनि पदपूर्ति गर्न लागिएको भन्दै पदपूर्ति प्रक्रियामा गडबडको आशंका गरिएको हो। सोही कारण प्रादेशिक अस्पतालको व्यवस्थापन समिति नै विभाजित भएको छ। व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले मंगलबार राजनीतिक दबावका आधारमा कर्मचारी छनोट नगर्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएपछि समितिमा दुइ धार देखिएका हुन्।
अध्यक्ष भन्छन्ः आरोप निराधार
यस्तै अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह भने सदस्य भट्टले लगाएका आरोप निराधार रहेको बताउँछन्। तर, उनले पनि कोरोना महामारीका बेला बनेको कार्यविधि अनुसार कर्मचारी भर्ना गर्न मिल्ने कि नमिल्ने भन्ने कुरा चाही सोचनिय रहेको बताए। ‘कर्मचारी भर्ना कार्यविधिअनुसार नै हुन्छ। केही चलखेल र दवाब छैन्,’ शाहले भने, ‘अहिले हामी पहिलो चरणमा फाइल केलाउने, हेर्ने काम गरिरहेका छौं। नियमानुसार र कार्यविधिअनुसार नै कर्मचारी भर्ना हुन्छन्।’