काठमाण्डौ – काठमाण्डौका केही ठूला क्याम्पसमा अहिले पनि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको विवाद छ ।
स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले अहिले पनि ठूला क्याम्पसमा विवाद भएका कारण विद्यार्थीले नेतृत्व छनोट गर्न नपाएको र अन्य क्याम्पस प्रशासन, निर्वाचन अधिकृतलगायतका पक्षलाई समेत समस्या भएको बताउनुभयो ।
गएको ५ गते चुनाव हुन नसकेका क्याम्पसमा एक महिनाभित्र चुनाव गर्न निर्देशन दिइएको थियो । त्यसअनुसार संयुक्त विद्यार्थी सङ्गठहरुबीच आउँदो बिहीवार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने सहमति पनि भएको छ ।
संयुक्त विद्यार्थी सङ्गठनहरुले चुनाव बिथोलिने गतिविधि नगर्ने र कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी गरे पनि काठमाण्डौको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा मनोनयन दर्ता गर्नेक्रममा विवाद भएको छ ।
हिजो पाटन संयुक्त क्याम्पसमा चुनाव भएको थियो । चैत ५ पछि नेपालगञ्जकाे महेन्द्र बहुमुखी, दाङको महेन्द्र क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवाको कृषि क्याम्पस, बाग्लुङको धवलागिरी, पोखराको वन विज्ञान र काठमाण्डौको आयुर्वेद क्याम्पसमा चुनाव भएको छ ।
रामपुर कृषि क्याम्पस चितवनमा चैत १७ गते चुनाव भए पनि विवाद कायमै छ । गएको ५ गते त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिकमध्ये ४० वटामा र त्यसपछि ९ वटामा गरी ४९ क्याम्पसमा चुनाव भएको छ । अन्यमा बाँकी छ ।