महेन्द्रनगर – महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालका डेढ सय विद्यार्थी दीक्षित भएका छन् । आइतबार विश्वविद्यालयले आयोजना गरेको तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
इन्जिनियरिङ संकायका २५ जना, सीएसआईटीका १६ जना, बीएससी का १४ जना, बीएडका १७ जना, एमएडका १५ जना, बीएका ४ जना, एमएका १४ जना, बीबीए, १७ जना, बीबीएस ३७ जना र एमबीएमका २० जना गरी कूल १७९ जना विद्यार्थी दीक्षित भएका हुन् ।
विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भए । त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन संकायबाट स्नाकोत्तर मुकेश राज जोशीले चान्सलर पदक प्राप्त गरेका छन् ।
इन्जिनियरिङ संकायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरेका छन् । केन्द्रीय क्याम्पसका हेमा जोशी,बलदेव भट्ट,मुकेश राज जोशी,केशव दत्त जोशी,महेश्वरी बडु,मुकुन्द सिंह क्षेत्री,शिव शंकर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरेका छन् ।