काठमाडौँ- कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु शून्य भएको तीन महिनापछि लगातार दुई दिन एक/एक जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना परीक्षण गर्दा १२१ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट आएसँगैै कोरोना संक्रमण पनि बढेको छ भने मृत्यु पनि भएको छ ।
देशभर बुधबार सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । यीमध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ११ जनाको आईसीयूमा उपचार भइरहेको छ । यस्तै, २५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमण बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढेको छ । यसअघि भेन्टिलेटरमा एक जना मात्र बिरामी थिए । बुधबार तीन जना बिरामी भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा ८४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।