काठमाडौँ – नयाँ वर्ष २०८० सालको पहिलो दिन नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफ्ना पार्टीका मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने निर्णय गरेको छ ।
कार्यतालिका बनाएर प्रधानमन्त्री ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने निर्णय भएको हो ।
कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरूले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको पार्टीले जनाएको छ । नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डको छ ।
कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् । सोमबार पर्यटन मन्त्री, मङ्गलवार सञ्चारमन्त्री, बुधबार प्रशासन मन्त्री, बिहीबार गृहमन्त्री, शुक्रबार प्रधानमन्त्री र शनिबार सल्लाहकार तथा विज्ञहरू पार्टी कार्यालय जानुपर्ने छ । प्रधानमन्त्रीले आफ्ना टिमसँग प्रत्येक शनिबार २ घण्टा छलफल गर्ने र आफैँ भेट्न आउनेभन्दा पनि बोलाएर भेट्न आउनेलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
अब प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना खानेगरी अन्तर्क्रिया गर्ने कार्यतालिका बनाइएको छ ।