धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ प्रवेशमा रकम असुली भइरहेको पाइएको छ। पार्कमा धनगढी नगर सभाबाट पारित गरिएको दर विपरीत रकम असुली हुँदै आएको पाइएको हो।
धनगढी उपमहानगरपालिकाको नगर सभाले भीम उद्यान प्रवेशका लागि स्वदेशी नागरिकबाट १० रुपैयाँ, विदेशी नागरिकबाट ४० रुपैयाँ, फोटो खिच्ने क्यामराबाट २० रुपैयाँ, भिडियो क्यामराबाट चार सय रुपैयाँ र फिल्मका लागि पाँच सय रुपैयाँ प्रदेश शुल्कको दर बनाएको छ। तर पार्क प्रवेशमा स्वदेशी नागरिकबाट २५ रुपैयाँका दरले रकम असुली हुँदै आएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखाको प्रतिवेदनमा भीम उद्यानमा होली हंगामा कार्यक्रमको आयोजना गर्दै एक सय ५० रुपैयाँसमेत लिने गरिएको उल्लेख गरिएको छ। नगर सभाबाट पारित गरिको दर रेट भन्दा बढी रकम असुली गर्ने कम्पनीलाई कारबाही गर्न महालेखाले उपमहानगरपालिकालाई निर्देशन दिएको छ।