धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नेकपा (एमाले) कैलालीको जिल्ला कमिटीको टोलीले निरीक्षण गरिएको छ। आज (सोमवार) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी नेतृत्वको टोलीले अस्पतालको अनुगमन तथा प्रशासनसंग छलफल गरेको हो।
सेवाग्राहीको आम जनगुनासोपछि अस्पतालको प्रभावकारी सेवा प्रदानमा सहजीकरण गर्न, गराउन अनुगमन गरिएको जोशीले बताए।
उक्त अनुगमन टोलीमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। अनुगमनका क्रममा उक्त टोलीले अस्पतालका समस्या र आवश्यकताबारे मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेबाट जानकारी लिएका थिए। पाण्डेले अस्पताललाई विषेशज्ञ चिकित्सकसहितको ३०० बेड क्षमताको बनाउन पहल गर्न उनीहरुसमक्ष आग्रह गरेका थिए।
यस्तै सो क्रममा हालसालै विवादित बनिरहेको अस्पतालको कर्मचारी भर्नाको विषयमा पनि छलफल गरिएको थियो। एमालेले अस्पतालमा निष्पक्ष तरिकाले कर्मचारी भर्ना गर्न माग गरेको छ। अस्पतालको कर्मचारी अभाव, बेड वृद्धि लगायतका समस्या समाधानका लागि पनि एमालेको जिल्ला कमिटीले पहल गर्ने जनाएको छ।