सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले प्रदेश प्रमुख तिलक परियारद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले बिहीबानै संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नयाँ मन्त्री नियुक्त गरेका थिए।
मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मन्त्री पदको शपथ लिए।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिए ।
यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकासमन्त्रीको रुपमा शपथ लिएकी छन्। २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरिएको थियो। तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जामन्त्री बनेकी हुन् ।
बुधबार गर्ने भनिएको शपथ कांग्रेस केन्द्रको दबाबका कारण रोकिएको थियो । तर, बिहीबार बिहान कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरुको प्रयासमा विवादलाई साम्य पार्दै मन्त्री नियुक्त र शपथ कार्यक्रम सम्भव भएको थियो ।